
असार २२ एजेन्सी । नेपाली मूलका भारतीय फुटबल कप्तान सुनिल क्षेत्री पोर्चुगाली फुटबलको महारथी स्पोर्टिङ लिस्बनसँग आबद्ध भएका छन्। लिस्बनले जनाएअनुसार भारतीय स्टार स्ट्राइकरले क्लबको बी टिमबाट खेल्ने छन्। उनले दुई सिजनका लागि पोर्चुगाली टोलीसँग सम्झौता गरेका हुन्। भारतीय फुटबल प्रशासनसँग पोर्चुगाली पक्षले खेल विकासका लागि गरेको सम्झौताअनुरुप क्षेत्रीको सरुवा भएको हो।
'स्थानीय स्तरबाटै प्रतिभालाई ल्याएर उच्चस्तरीय खेलाडीका रूपमा विकास गर्ने हाम्रो अनुभव छ। भारतमा फुटबल विकासका लागि हामीले केही प्रतिबद्धता जनाएका छौं, त्यहीअनुसार क्षेत्रीलाई आबद्ध गराएका हौं,' लिस्बनलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन्। लिस्बनको विज्ञप्ति उद्धृत गर्दै समाचारमा जनाइएअनुसार २७ वर्षे फरवार्डलाई 'उनको देशको आदर्श' का रूपमा व्याख्या गर्दै भनिएको छ, 'युरोपमा खेल्ने महत्वाकांक्षा बोकेका सबै युवाको सपनालाई उनले प्रतिनिधित्व गरेका छन्।' पोर्चुगाली लोकप्रिय खेलकुद पत्रिका रेकर्डले भने भारतीय फुटबल प्रशासनसँगको सम्झौतालाई लिस्बनको मार्केटिङ रणनीति बताएको छ। 'बी टिमका खेलहरू भारतमा प्रसारण गरिन्छन्। अब यस्तो सहकार्यपछि मुख्य टिमका खेलहरू पनि भारत र चीनमा प्रसारण गर्न सकिने सम्भावना छ,' पत्रिकाले लेखेको छ। लिस्बनले यसअघि नै साउदी अरेबिया, अराबिया, एङगोला, चीन र अमेरिकामा सहकार्य सुरु गरिसकेको छ। झापा चारआलीका खडगबहादुर क्षेत्री र सुशीला पाण्डे (क्षेत्री) का पुत्र सुनिल बाबु भारतीय सेनामा जागिरे भएपछि सानैदेखि उतैका बनेका थिए। प्राविधिक रूपमा भारतीय भए पनि नेपाली भाषी भएकाले नेपालीझै अनुभव गर्ने सुनिल गत महिना मात्र भारतको लोकप्रिय म्याकड्वेल मोहन बगानको टोलीबाट नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल्न नेपाल आएका थिए। त्यसको एक महिनाअघि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनी एएफसी च्यालेन्ज कप खेल्न काठमाडौं आए। अमेरिकी मेजर लिग सकरको केन्सास सिटीबाट एक सिजन खेलिसकेका उनले दक्षिण एसियाली फुटबलमा पर्याप्त सम्भावना भएको बताउँदै विदेशमा खेल्ने रहर यथावत रहेको बताएका थिए। दुई वर्षअघि केन्सास सिटीले १० जनामा सीमित भएर अधिकांश समय खेल्नाका बावजुद मैत्रीपुर्ण खेलमा इङलिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाईटेडलाई २-१ को नतिजामा हराउदा सुनिल टोलीका सदस्य थिए। केन्सासको पहिलो रोजाईमा नियमित रुपमा नपरेपनि म्यानचेस्टरविरुद्धको खेलमा उनले २५ मिनेट मैदानमा विताएका थिए। २०१० मा डेम्पो क्लबका लागि खेल्दै गर्दा केन्सासमा ट्रायलको अवसर पाएका उनी त्यही सिजन अमेरिकी टोलीसंग ४ वर्षका लागि आवद्ध भएका थिए। २०११ मा भारतीय राष्ट्रिय टोलीका लागि एसियन कप खेल्न कतार आउदा उनको सम्झौता नविकरण समय परेकाले सम्झौता नविकरण हुन सकेन र उनी भारत फर्किएका थिए। 'त्यो बेला समय नछुटेको भए म चार वर्ष उतै हुन्थे। तर देशका लागि खेल्न आउदा सम्झौता गर्ने समय गुजि्रयो र म भारतमै मोहन बगानसँग आबद्ध भए,' मैत्रीपूर्ण खेल्न नेपाल आउँदा उनले नागरिकसँग भनेका थिए, 'अझै विदेशी लिग खेल्ने सपना सकिएको छैन, भर्खर २७ वर्षको भएँ, प्रयास गरिरहन्छु।' विदेशमा खेल्न पाउँदा धेरै सिक्ने अवसर पाइने उनको अनुभव छ। उनले भनेका थिए, 'म्यानचेस्टर युनाइटेडलाई हराउँदा म पनि टिमको हिस्सा थिएँ। संसारकै सर्वोत्कृष्ट टिमलाई हराउने टिममा एउटा दक्षिण एसियाली हुनुले यहाँ पनि सम्भावना भएको प्रमाणित गरेको छ। उनिहरुजस्तै राम्रो ट्रेनिङ पाउने र मेहनत गर्ने हो भने हामी पनि उनीहरूभन्दा कम छैनौं भन्ने आत्मविश्वास मलाई त्यो खेलले दिलायो। त्यो मेरो जीवनकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट खेल थियो।'





Set homepage
About us
E-mail: exmail@example.com
Contact advertising
Recruitment
Hotline: 0123.45.67.89
Top